ताजा खबर

कृषि

धानबालीमा पातबेरुवा र गवारो किराको प्रकोप देखिएपछि कञ्चनपुरका कृषक चिन्तित ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, ०९ साउन ।
कञ्चनपुरका किसानहरुले लगाएको धानबालीमा पातबेरुवा र गवारो रोग देखापरेको छ । बेलौरी नगरपालिका र आसपासका क्षेत्रमा धानबालीमा पातबेरुवा र गवारो किराको प्रकोप देखिएको हो । धानबालीले आवश्यक मात्रामा पानी नपाएका कारणले यस्तो रोग देखापरेको कृषि विकास शाखा बेलौरीका प्राविधिक हरिश सेटीले बताउनु भयो । 

 

धानबालीमा देखिएको पातबेरुवा र गवारो किराको प्रकोप नियन्त्रणका लागी क्लोरोपाइरिफस प्लस साइपरमेथ्रिन मिक्स भएको २ मिलिलिटर विषादी प्रतिलिटर पानीमा मिसाउने वा इमामेक्टिन बेन्जोइड नामक बिषादी आधा ग्राम प्रतिलिटर पानीमा मिसाई छर्न कृषि विकास शाखा बेलौरीका प्रमुख रण बहादुर मल्लले अनुरोध गर्नुभएको छ ।

 

बिषादी छर्नु भन्दा पहिला बाँस, बयर वा खयरको कुचोले धानको पातहरु हल्लाई बिषादी छर्ने र बिषादी छर्दा सुरक्षाका उपायहरु अपनाउने जस्तै, मुखमा मास्क र शरीर पूरा ढाक्ने लुगा लगाउने, हातमा पन्जा र खुट्टामा बुट लगाएर मात्र छर्न हुन पनि सम्बन्धित कृषकहरुलाई कृषि विकास शाखा बेलौरीले अनुरोध गरेको छ । 

 

यस विषयमा थप जानकारीका लागि बेलौरी नगरपालिका कृषि विकास शाखाको फोन नं. ०९९५८०३५३ वा ९८४८७९८७०० वा ९८१२७७५६२८ वा ९८०९४७८४५६ वा ९८१०७७९७१८ मा टेलिफोन गरेर वा कृषि विकास शाखामा आई आवश्यक परामर्श लिन कृषि विकास शाखा बेलौरीका प्रमुख रण बहादुर मल्लले अनुरोध गर्नुभयो ।

<